
एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि रक्षा अभियान थप मजबुत बनाएको छ ।
मंगलवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले टोटनहम हटस्परमाथि २–० को जित निकाल्दै प्रिमियर लिगको उपाधि रक्षा थप मजबुत बनाएको हो ।
टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा सिटीलाई महत्वपूर्ण जित दिलाउन इर्लिङ हालान्डले दुबै गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५१ औं मिनेटमा केभिन डिब्रएनाको पासमा हालान्डले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।
त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा हालान्डले पेनाल्टीमा गोल थप्दा सिटी २–० ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै सिटीले ३७ खेलबाट ८८ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
दोस्रो स्थानमा रहेको आर्सनलको भने समान ३७ खेलमा ८६ अंक रहेको छ ।
अब उपाधिको छिनोफानो लिगको अन्तिम खेलबाट हुने निश्चित भएको छ ।
त्यस्तै, स्पर्सका रुपमा समेत चिनिने टोटनहमले भने हारसंगै शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।
स्पर्सको ३७ खेलबाट ६३ अंक भएको छ ।
स्पर्स सिटीसंग पराजित भएसंगै एस्टन भिल्लाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।