
एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा उज्बेकिस्तानसंग भारत पराजित भएको छ ।
विहिवार राति भएको खेलमा छिमेकी राष्ट्र भारत उज्बेकिस्तानसंग ३–० ले पराजित भएको हो ।
अहमद बिन अली रंगशालामा भएको खेलमा भारतमाथि जित निकाल्न उज्बेकिस्तानका लागि अब्बोस्बेक फायजुल्लाएभ, इगोर सेर्जेइभ र शेरजोड नासरुल्लाएभले गोल गरे ।
खेल सुरु भएको चौथौं मिनेटमा ओटाबेक शुकुरोभको पासमा अब्बोस्बेकले गोल गर्दै उज्बेकिस्तानलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि १८ औं मिनेटमा इगोरले गोल गर्दै उज्बेकिस्तानलाई २–० ले अघि बढाए ।
यता, पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको इन्जुरी समयको चौथौं मिनेटमा शेरजोडले गोल थप्दा उज्बेकिस्तान ३–० ले अघि बढ्यो ।
दोस्रो हाफमा दुबै टोलीले गोलका लागि केहि राम्रा अवसर सिर्जना गरेतापनि गोल भने गर्न सकेन र खेल उज्बेकिस्तानले जित्यो ।
सहज जितसंगै उज्बेकिस्तानले दुई खेल खेलिसक्दा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकाल्दै समूह ‘बी’ को तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
समूह चरणमा दुई खेल खेलिसकेको भारतले भने दुबै खेलमा हार बेहोर्दै शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।