
भक्तपुर । एसीसी यु–१६ इस्ट जोन कपको फाइनल खेल नेपालले ११४ रनको विजयी लक्ष्य पाएको छ ।
सनिवार मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङमा आएको सिंगापुरलाई ४०.५ ओभरमा अलआउट गर्दै ११३ रनमा रोकेसंगै साविक विजेता नेपालले ११४ रनके विजयी लक्ष्य पाएको हो ।
सिंगापुरका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रोहन अस्टिन अरुणले ८४ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा रियान नाइकले ११ बल खेल्दै ३ चौका प्रहार गरेर १५ रन बनाएर पेविलियन फर्किए ।
त्यस्तै, भेदान्श गुप्ताले ३८ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा आकाश तेजाले २४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
यता, आरभ अग्रवाल र युभान पाण्डे समान ९–९, स्वरित ठाकुर ५, प्रनद इशान मेधुरी र कपिश भेनकत्रामान २–२ रनमा आउट हुँदा अर्का ओपनर आहान भुथानदम र इल्भिन थोमस भर्गेसे शुन्य रनमा पेविलियन फर्किए ।
सिंगापुरले अतिरिक्त रुपमा २६ रन जोड्यो ।
नेपालका लागि अभय यादवले १० ओभर बलिङ गर्दै २ मेडन राखेर ३ विकेट लिँदा शुशिल बहादर रावलले ८ ओभर बलिङ गर्दै ३८ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, शुभम् खनालले ७.५ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित १७ रन दिएर २ विकेट लिँदा बिपिन प्रसाद शर्माले १० ओभर बलिङ गर्दै ३ मेडन राखेर १४ रन दिएर १ विकेट लिए ।