भक्तपुर । इराकमाथि फराकिलो जित निकाल्दै नेपाल ८ औं संस्करणको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनल नजिक प्रवेश गरेको छ ।
विहिवार राति भएको समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५–० को फराकिलो जित निकाल्दै सेमिफाइनल नजिक प्रवेश गरेको हो ।
साउदी अरबियाको जेद्दाहस्थित किंग अब्दुल्लाह स्पोर्ट सिटी मैदानमा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी (साम्बा) ले सबै पाँचै गोल गरिन् ।
खेल सुरु भएको १३ औं मिनेटमा नेपाली फुटबलकी गोल मेसिनका रुपमा समेत चिनिने साम्बाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।
उक्त गोलका लागि रेखा थापाले असिस्ट प्रदान गरेकी थिइन् ।
त्यसको दुई मिनेटपछि अर्थात् १५ औं मिनेटमा इराककी डिफेन्डरसंग रहेको बल खोस्दै साम्बाले व्यक्तिगत रुपमा दोस्रो गोल गरिन् ।
त्यसपछि ३६ औं मिनेटमा पुजा राणाको क्रसमा साम्बाले हेडमार्फत् गोल थप्दै ह्याट्रिक पूरा गरेसंगै नेपाल ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
यता, पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा इराकका खेलाडीको मिस पासलाई रेखा पौडेलले नियन्त्रणमा लिँदै साम्बालाई बल पास गरिन् ।
साम्बाको पहिलो प्रहार इराककी गोलकिपरले बचाएतापनि रिबाउन्डमा साम्बाले सहजै गोल गर्दै नेपाललाई पहिलो हाफसम्ममा ४–० को फराकिलो अग्रता दिलाइन् ।
त्यस्तै, दोस्रो हाफको ७९ औं मिनेटमा प्रिति राईको असिस्टमा साम्बाले गोल थप्दै नेपाललाई एकपक्षिय रुपमा ५–० ले जित दिलाए ।
फराकिलो जितसंगै समूह ‘बी’ मा रहेको अतिथि राष्ट्र नेपालले दुई खेलमा शतप्रतिशत जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै रह्यो ।
अब नेपालले समूह चरणअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा सनिवार प्यालेस्टाइनसंग प्रतिस्पर्धा गर्नेछ ।