
एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा इम्पोलीमाथि सहज जित निकालेको छ ।
सोमवार राति भएको खेलमा लिग लिडर इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी इम्पोलीमाथि २–० को सहज जित निकालेको हो ।
मिलानको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंशगालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फेडेरिको डिमार्को र एलेक्सिस सान्चेजले गोल गरे ।
खेल सुरु भएको पाँचौं मिनेटमा एलेसान्ड्रो बास्टोनीको असिस्टमा डिमार्कोले गोल गर्दा घरेलु टोली १–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ८१ औं मिनेटमा ड्यान्जेल डुमफ्रिजको पासमा सान्चेजले गोल थप्दा इन्टर २–० ले विजयी भयो ।
सहज जितसंगै इन्टरले ३० खेलमा ७९ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित इम्पोलीको भने समान ३० खेलमा २५ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।