एजेन्सी । मिलान डर्बीमा जित निकाल्दै इन्टर मिलानले इटालियन घरेलु फुटबलको शीर्ष लिग सिरी ए को उपाधि जितेको छ ।
सोमवार राति भएको डर्बी खेलमा चिरपरिचित प्रतिद्वन्दी एसी मिलानमाथि २–१ को जित हासिल गर्दै इन्टर मिलानले सिरी ए को उपाधि जितेको हो ।
मिलानस्थित स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा इन्टरका लागि फ्रान्सेस्को अकेर्बी र मार्कुस थुरामले गोल गर्दा एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए ।
खेल सुरु भएको १८ औं मिनेटमा बेन्जामिन पाभर्डको पासमा फ्रान्सेस्कोले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा थुरामले गोल थप्दा इन्टर २–० ले अघि बढ्यो ।
तर, ८० औं मिनेटमा टोमोरीले एसी मिलानका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल इन्टरले जित्यो ।
डर्बी खेल जितेसंगै इन्टरले पाँच खेल अगावै लिग उपाधि जितेको हो ।
इन्टरले ३३ खेलमा ८६ अंक जोडेको छ ।
यो भनेको समान ३३ खेलमा ६९ अंक रहेको निकतम प्रतिद्वन्दी एसी मिलानको भन्दा १७ अंक बढी हो ।
अब इन्टरले लिगमा बाँकी पाँचै खेलमा हार बेहोरेतापनि एसी मिलानले भेटाउन सक्ने छैन ।
इन्टरको यो २० औं सिरी ए उपाधि हो ।