एजेन्सी । क्रिस्चियानो रोनाल्डो आबद्व अल नासेर क्लब र लियोनल मेसीको इन्टर मियामीबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल अल नासेरले जितेको छ ।
बुधवार राति भएको मैत्रीपूर्ण खेलमा मेसीको क्लब इन्टर मियामीमाथि रोनाल्डोको क्लब अल नासेरले ६–० को फराकिलो गोलअन्तरले जितेको हो ।
साउदी अरबियाको रियादस्थित किंगडम एरिना रंगशालामा भएको खेलमा अल नासेरका लागि टालिस्काले ह्याट्रिक हान्दा ओटाभियो, एमिरिक लापोर्टे र मोहम्मद मरानले समान एक–एक गोल थपे ।
वर्तमान फुटबल जगतका सर्वकालिन महान् खेलाडीद्वय रोनाल्डो र मेसीको सम्भावित अन्तिम खेलका रुपमासमेत चर्चा गरिएको खेलमा रोनाल्डोले भने चोटका कारण खेलेनन् ।
यता, मेसीले भने ८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिर्दै केहि समय खेले ।
मैत्रीपूर्ण खेल सुरु भएको तेस्रो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा ओटाभियोले गोल गर्दै अल नासेरलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको ७ मिनेटपछि नै १० औं मिनेटमा अब्दुलाजिज अल इलेवाइको पासाम टालिस्काले गोल थप्दै साउदी क्लबलाई २–० ले अघि बढाए ।
लगत्तै त्यसको दुई मिनेटपछि लापोर्टेले मैदानको मध्य भागबाट सशक्त प्रहार गर्दै बललाई जाली चुमाउँदा रोनाल्डोको टोली ३–० को सहज अवस्थामा पुग्यो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा पेनाल्टीमा टालिस्काले गोल थप्दा अल नासेर ४–० ले अघि बढ्यो ।
त्यसपछि ६८ औं मिनेटमा मरानले गोल थप्दा साउदी प्रो लिग क्लब ५–० ले अघि बढ्यो ।
खेलको ७३ औं मिनेटमा एलेक्स टेलेक्सको पासमा टालिस्काले ह्याट्रिक हान्दा अल नासेर अमेरिकी क्लब इन्टर मियामीमाथि ६–० को फराकिलो जित निकाल्न सफल रह्यो ।