एजेन्सी । लिभरपूलले इएफएल कपअन्तर्गत खेलमा प्रिमियर लिग प्रतिद्वन्दी वेस्टह्याम युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।
बुधवार राति भएको तेस्रो चरणको खेलमा साविक विजेता लिभरपूलले वेस्टह्याम युनाइटेडमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
लिभरपूलको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन डिएगो जोटा र कोडी गाक्पोले दुई–दुई गोल गर्दा अर्को एक गोल मोहम्मद सल्लाहले गरे ।
पहिलो हाफको २१ औं मिनेटमा लिभरपूलका जरेल क्वानसाहको आत्मघाती गोलमार्फत् वेस्टह्यामले सुरुवाती अग्रता लियो ।
तर, २५ औं मिनेटमा फेडेरिको चियसाको पासमा जोटाले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको ४९ औं मिनेटमा कर्टिस जोन्सको पासमा जोटाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मर्सिसाइड क्लब २–१ ले अघि बढ्यो ।
यता, ७४ औं मिनेटमा सल्लाहले गोल थप्दा लिभरपूल ३–१ ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै ७६ औं मिनेटमा इडिसन अल्भारेजले दोहोरो पँहेलो कार्डसंगै रातो कार्ड पाउँदा वेस्टह्याम १० खेलाडीमा समेतियो ।
खेलको अन्त्यतिर ९० औं मिनेटमा डार्विन नुनेजको पासमा गाक्पोले गोल थप्दा लिभरपूल ४–१ ले अघि बढ्यो ।
यता, इन्जुरी समयको तेस्रो मिनेटमा गाक्पोले गोल थप्दा लिभरपूल ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै साविक विजेता टोली प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ ।