एजेन्सी । टोटनहम हटस्परले इंग्लिस फुटबलको नकआउट प्रतियोगिता इएफएल कपको तेस्रो चरणको खेलमा कोभेन्ट्री सिटीमाथि पुनरागमन जित निकालेको छ ।
बुधवार राति भएको तेस्रो चरणअन्तर्गत खेलमा प्रिमियर लिग क्लब टोटनहम हटस्परले च्याम्पियनसिप क्लब कोभेन्ट्री सिटीमाथि २–१ को पुनरागमन जित निकालेको हो ।
कोभेन्ट्रीको घरेलु मैदान द कोभेन्ट्री बिल्डिङ सोसाइटी एरिना स्टेडियममा भएको खेलमा स्पर्सलाई जिताउन डिजेड स्पेन्स र ब्रेनान जोनसनले गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने ब्रान्डन थोमस असान्टेले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा नोर्मान बास्सेटको असिस्टमा ब्रान्डनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।
तर, ८८ औं मिनेटमा डिजेन कुलुसेभस्कीको असिस्टमा स्पेन्सले गोल स्पर्सका लागि फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगो बेनटानकुरको पासमा जोनसनले गोल गर्दा टोटनहम २–१ ले विजयी भयो ।
जितसंगै टोटनहम काराबाओ कपका रुपमा समेत चिनिने प्रतियोगिताको चौथौं चरणमा प्रवेश गरेको छ ।