भक्तपुर । फिफा विश्वकपअन्तर्गत इंग्लिस डर्बीमा इंग्ल्याण्ड विजयी भएको छ ।
मंगलवार राति भएको खेलमा इंग्ल्याण्डले वेल्समाथि ३–० को जित हात पारेको हो । इंग्ल्याण्डको जितमा मार्कुस रासफोर्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे ।
अहम्मद विन अली रंगशालामा खेलको ५० औं मिनेटमा रासफोर्डले फ्रिकिकमार्फत इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । लगत्तै ५१ औं मिनेटमा फिल फोडनले ह्यारी केनको पासमा गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे ।
निरन्तर वेल्समाथि दवाव सिर्जना गरिरहेको थ्री लायन्सले ६८ औं मिनेटमा अग्रता तेब्बर पारे । रासफोर्डको उक्त गोलमा केभिन फिलिप्सले असिस्ट गरेका थिए ।
जितसंगै इंग्ल्याण्ड ७ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । ग्यारेथ साउथगेटको टोलीले दुई खेलमा जित र एकमा बराबरी खेलेको थियो ।
यता पराजित वेल्स भने तीन खेलमा दुईमा हार र एकमा बराबरीको नतिजाका साथ मात्र एक अंक जोड्दै समूह ‘बी’ को तालिकामा अन्तिममा रह्यो ।