एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डमाथि रोमाञ्चक ६ रनको जित हात पार्दै आयोजक दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राति भएको खेलमा जितका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५८ रनमा समेतिएसंगै दक्षिण अफ्रिका पहिलो पल्ट फाइनलमा प्रवेश गरेको हो ।
न्युल्याण्ड्स क्रिकेट ग्राउण्डमा भएको खेलमा इंग्ल्याण्डका लागि न्याट सेभियर ब्रुन्टले ३४ बल खेल्दै ५ चौका प्रहार गर्दै सर्वाधिक ४० रनको योगदान गर्दा ड्यानी वाटले ३० बलमा ६ चौका प्रहार गर्दै ३४ रनमा आउट भईन् ।
कप्तान हिथर नाइटले २५ बलमा २ छक्का प्रहार गर्दै ३१ रन जोड्दै पेविलियन फर्किदा सोफिया दनक्लेले १६ बलको सामना गर्दा ६ चौका प्रहार गर्दै २८ रन बनाउँदै आउट भईन् ।
इंग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । साहरा ग्लिन ८ रनमा अविजित रहँदा विकेटकिपर एमी जोन्सले २ तथा सोफी एकलस्टन १ रनमा आउट भईन् । इंग्ल्याण्डले १३ रन अतिरिक्त रुपमा जोडेको थियो ।
घरेलु टोलीका लागि आयोबंगा खाकाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर सर्वाधिक ४ विकेट हात पारिन् ।
त्यस्तै, शबनम इस्माइलले पनि ४ ओभर बलिङ गर्दा २७ रन खर्चिएर ३ विकेट हात पारिन् । नदिन दि क्लार्क ४ ओभरमा १७ रन दिएर १ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको आयोजक दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
घरेलु टोलीका लागि ताजमिन ब्रिट्सले ५५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रन बनाएकी थिईन् ।
त्यस्तै, लौरा उलभार्टले ४४ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ५३ रनको अर्धशतकिय इनिङ्स खेलेकी थिईन् ।
यता, मारिजान कापले १३ बल खेल्दै ४ चौका प्रहार गर्दै २७ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
चौल ट्रायन ३ रनमा पेविलियन फर्किदा नदिन दि क्लार्क शुन्यु रनमा आउट भईन् । सुन लुस ३ रनमा अविजित रहिन् । दक्षिण अफ्रिकाले १० रन अतिरिक्त रुपमा पाएको थियो ।
इंग्ल्याण्डका लागि सोफी एकलस्टन ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिईन् ।
त्यस्तै, लौरेन बेलले ३ ओभर बलिङ गर्दा २१ रन दिएर १ विकेट हात पारिन् । आयोजक दक्षिण अफ्रिकाले उपाधिका लागि आइतवार अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछन् ।