भक्तपुर । २२ औं संस्करणको आहा रारा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले विभागिय नेपाल पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यो सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने तयारी गरिरहेको युनाइटेडले नेपाल पुलिस क्लबलाई २–१ ले स्तब्ध पारेको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले सुरुवाती अग्रता लिएको थियो । पुलिसले २५ औं मिनेटमा रवि शंकर पासवानले विभागीय टिमका लागि गोल गरेका थिए ।
दोस्रो हाफमा पुनरागमन जित निकालेको युनाइटेडले ७७ औं मिनेटमा बराबरी खेल फर्काएको थियो । युनाइटेडका लागि नवप्रवेशी अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको खेल सुरु भएको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नरमार्फत गोल गर्दै युनाइटेडको जित पक्का गर्यो ।