
एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत खेलमा आलाभेसमाथि स्पष्ट जित हासल गर्दै जिरोना शीर्ष स्थानमा उक्लेको छ ।
सोमवार राति भएको खेलमा जारी सिजन उच्च लयमा रहेको जिरोनाले आलाभेसमाथि ३–० को स्पष्ट जित हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल डि मोन्टिलिभी रंगशालामा भएको खेलमा जिरोनाको जितमा अर्टिम डोभयकले दुई गोल गर्दा पोर्टुले एक गोल थपे ।
खेल सुरु भएको २३ औं मिनेटमा डोभयकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर ४२ औं मिनेटमा यान कौटोको पासमा पोर्टुले गोल थप्दा जिरोना २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५९ औं मिनेटमा डोभयकले पेनाल्टीमार्फत् व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा जिरोना ३–० ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल जिरोनाले जित्यो ।
स्पष्ट जितसंगै जिरोनाले १७ ला लिगा खेलबाट ४४ अंक जोडेको छ ।
यो भनेको तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडको भन्दा दुई अंकले बढी हो ।
यता, पराजित आलाभेसको समान १७ खेलमा १६ अंक रहेको छ ।
भ्रमणकारी टोली तालिकाको १३ औं स्थानमा झरेको छ ।