
एजेन्सी । इंग्लिस प्रमियर लिगअन्तर्गत सोमवार राति भएको खेलमा लिग लिडर आर्सनलले वेस्टह्याम युनाइटेडविरुद्व जित निकाल्दै शीर्ष स्थानको यात्रा जारी राखेको छ ।
इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले वेस्टह्याममाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
खेलको २७ औं मिनेटमा भ्रमणकारी टोलीका लागि सैद बेनराह्माले पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले पछि रहेको घरेलु टोली दोसो हाफको ५३ औं मिनेटमा बुकायो साकाको गोलमार्फत खेलमा फर्कियो ।
त्यसको पाँच मिनेट पछि नै ग्रावियल मार्टिनिलीले गोल गर्दा घरेलु टोली खेलमा २–१ ले अगाडी बढ्यो ।
यता, ६९ औं मिनेटमा इडवार्ड निकेतियाले गोल गर्दा आर्सनलले खेल ३–१ ले जित्यो ।
जितसंगै आर्सनलको १५ खेलमा ४० अंक भएको छ । आर्सनलले दोस्रो स्थानमा रहेको न्युक्यासलसंग ७ अंकको अग्रता बनाएको छ ।
यता, पराजित वेस्टह्याम १४ अंकका साथ लिग तालिकाको १६ औं स्थानमा छ ।
त्यस्तै, गयराति नै भिल्लापार्क रंगशालामा सम्पन्न खेलमा लिभरपुलले एस्टनभिल्लामाथि ३–१ को जित निकाल्यो ।
लिभरपुलको जितमा मोहम्मद सल्लाह, भिर्गिल भान डाइक र स्टेफान विजसेटिकले एक–एक गोल गर्दा घरेलु टोलीका लागि ओलेइ वाट्किन्सले एक गोल फर्काए ।
जितसंगै महत्वपूर्ण ३ अंक जोडेको लिभरपुलले १५ खेलमा २५ अंक जोडेको छ ।
मर्सिसाइड क्लब लिग तालिकाको छैटौं स्थानमा छ । त्यस्तै, पराजित भिल्ला १८ अंकका साथ १२ औं स्थानमा छ ।