
एजेन्सी । आयोजक राष्ट्र जर्मनीमाथि सनसनी जित हासिल गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राति भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा घरेलु टोली जर्मनीमाथि २–१ को जित निकाल्दै स्पेन सेकिफाइनलमा प्रवेश गरेको हो ।
हारसंगै जर्मनीको युरो यात्रा अन्तिम ८ बाटै टुंगिएको छ ।
स्टुटगार्ट सहरस्थित स्टुटगार्ट एरिना रंगशालामा भएको रोमाञ्चक खेलमा भ्रमणकारी टोली स्पेनलाई जिताउन ड्यानी ओल्मो र मिकेल मारिनोले गोल गरे ।
जर्मनीका लागि फ्लोरियान विर्ट्जले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५१ औं मिनेटमा लामिन यामलको असिस्टमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई १–० ले अघि बढाए ।
तर, ८९ औं मिनेटमा घरेलु टोलीका लागि जोशुआ किम्मिचको असिस्टमा फ्लोरियान विर्ट्जले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएसंगै खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
रोमाञ्चक खेलमा दुबै टोलीले गोलका लागि केहि राम्रा अवसर सिर्जना गरे ।
तर, ट्राइब्रेकर उन्मुख खेलको अन्तिम समयतिर ११९ औं मिनेटमा ओल्मोको पासमा मेरिनोले हेडमार्फत् उत्कृष्ट गोल गर्दै स्पेनलाई २–१ ले जिताए ।