
भक्तपुर । नेपाल ‘ए’ एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा पराजित भएको छ ।
बुधवार भएको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससंग २१ रनले पराजित भएको हो ।
योसंगै ३ खेलको सिरिजमा आयरल्याण्ड उल्भ्सले १–० को अग्रता लिएको छ ।
काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा अलआउट हुँदै मात्र १३६ रनमा समेतियो ।
नेपालका लागि शाहब आलामले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन जोड्दा ओपनर ब्याट्सम्यान देव खनालले २२ बल खेल्दै ४ चौका प्रहार गर्दै २६ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, बसिर अहमदले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा रिजन ढकालले ३५ बलको सामना गर्दा १२ रन जोडेर अविजित रहे ।
यता, कप्तान विनोद भण्डारी र अर्जुन कुमाल समान ९–९, कमल सिंह ऐरी ६ र अर्जुन साउद ४ रनमा आउट हुँदा भिम सार्की, आरिफ शेख र मौषम ढकाल शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
नेपालको ब्याटिङ लाइनलाई धरासायी बनाउँदै जित निकाल्न आयरल्याण्डका लागि म्याथ्यु हम्फ्रिजले १० ओभर बलिङ गर्दै ३ मेडन राख्नेक्रममा ३२ रन दिएर सर्वाधिक ५ विकेट लिँदा लैम म्याकाथीले ५ ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली आयरल्याण्ड उल्भ्सले ८.३ ओभरमा अलआउट हुँदै १५७ रन जोड्यो ।
आयरल्याण्डका लागि केड कार्माइकलले ७७ बलमा ४ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा कप्तान नेइल रकले ३२ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, पिटर मुरले ३४ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान जेम्स म्याकोलुमले १५ बलमा ३ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर स्टेफेन डोहनीले ३० बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा ग्यारेथ डेलेनी ६ र लैम म्याकार्थी २ रनमा पेविलियन फर्किए ।
टम मायस ७ रनमा अविजित रहँदा बिन ह्वाइट, म्याथ्यु हम्फ्रिज र फियोन ह्यान्ड शुन्य रनमा पेविलियन फर्किए ।
भ्रमणकारी टोलीले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
आयरल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका लागि कमल सिंह ऐरीले ६.३ ओभर बलिङ गर्दै १ मेडन राखेर २१ रन दिनेक्रममा ह्याट्रिकसहित ४ विकेट लिए ।
त्यस्तै, साहब आलमले ९ ओभर बलिङ गर्दै १ मेडनसहित २१ रन दिएर २ विकेट लिँदा मौषम ढकालले १० ओभर बलिङ गर्दै ५० रन खर्चिएर २ विकेट लिए ।
यता, रिजन ढकालले ८ ओभरमा १ मेडनसहित ३२ रन दिएर १ विकेट लिँदा अर्को १ विकेट रनआउटमार्फत् प्राप्त गर्यो ।
सिरिजअन्तर्गत दोस्रो खेल शुक्रवार हुनेछ ।