भक्तपुर । फिफा विश्वकपअन्तर्गत क्वाटरफाइनलका दुई खेलहरु शुक्रवार राति सम्पन्न भए । रोमाञ्चक दुबै खेल पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।
पहिलो खेलमा उपाधि दाबेदार राष्ट्र ब्राजिललाई साविक उपविजेता क्रोएसियाले स्तब्ध पार्दा दोस्रो खेलमा नेडरल्याण्ड अर्जेन्टिनासंग पराजित भएको थियो ।
सनिवार पनि दुई क्वाटरफाइनल खेलहरु हुदैछ । आज पहिलो खेलमा अफ्रिकी राष्ट्र मोरक्को र युरोपेली राष्ट्र पोर्चुगल नेपाली समयअनुसार राति पौने ९ बजे अल थुमामा रंगशालामा आमनेसामने हुनेछ ।
त्यस्तै, मध्यराति पौने १ बजे इंग्ल्याण्ड र साविक विजेता फ्रान्सबीच अल ब्याट रंगशालामा प्रतिस्पर्धा हुने तालिका छ ।
मोरक्कोविरुद्व पोर्चुगल
जारी फिफा विश्वकपमा अफ्रिकाको एकमात्र राष्ट्र मोरक्को अन्तिम आठमा प्रवेश गरेको हो ।
यस्तोमा आज मोरक्को क्रिचियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलसंग आमनेसामने हुँदैछ ।
मोरक्को र पोर्चुगल यसअघि दुईपटक खेलेका छन् । सन् १९८६ को विश्वकपको समूह चरणमा मोरक्कोले पोर्चुगललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
त्यसयता पछिल्लोपटकको रसिया विश्वकपमा यी दुई राष्ट्र प्रतिस्पर्धामा उत्रेका थिए । जसमा पोर्चुगलले १–० को जित निकालेको थियो । रसियामा पनि यी दुई राष्ट्र समूह चरणमा आमनेसामने भएका थिए ।
जारी प्रतियोगितामा अन्डर दगका रुपमा मोरक्कोले सफलता हात पारेको छ ।
समूह चरणमा क्रोएसिया र बेल्जियमजस्ता बलिया राष्ट्रहरुलाई समेत पछि पार्दै समूह विजेताका रुपमा मोरक्को नकआउट चरणमा प्रवेश गरेका थिए ।
मोरक्को दुई खेलमा जित र एकमा बराबरी खेल्दै समूह ‘एफ’ को अपराजित राष्ट्र समेत रह्यो । समूह चरणमा उसले उपाधि दाबेदार मानिएको बेल्जियमलाई २–० ले पराजित गरेको थियो ।
यता, अन्तिम १६ मा पनि बलियो युरोपेली राष्ट्र स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनल प्रवेश गरेको हो ।
त्यस्तै,, युरोपेली फुटबलको बलियो राष्ट्रमा गनिने पोर्चुगल आज मोरक्कोसंग सचेत रहँदै कतार बसाई लम्याउने ध्यानमा रहेको छ ।
सम्भवत क्रिचियानो रोनाल्डोको अन्तिम विश्वकप रहेको हुँदा पनि यसपटक पोर्चुगल एतिहासिक रुपमा विश्वकपको उपाधि जित्न चाहन्छ ।
हालको पोर्चुगिच टोलीलाई हेर्ने हो भने पनि टोली बलियो र सन्तुलित नै रहेको मान्न सकिन्छ ।
मोरक्कोविरुद्व पोर्चुगलको क्वाटरफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।
इंग्ल्याण्डविरुद्व फ्रान्स
आज मध्यराति हुने यो खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने फुटबल समर्थकहरुको अनुमान रहेको छ ।
बलिया दुबै युरोपेली राष्ट्रलाई कतार विश्वकपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।
फ्रान्स साविक विजेता समेत हो भने इंग्ल्याण्ड रसिया विश्वकपमा सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।
यसअघि यी दुई राष्ट्रबीच विश्वकपमा दुईपटक प्रतिस्पर्धा भएको छ । सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फ्रान्समाथि २–० को जित निकाल्दा १९८२ मा पनि ३–१ को जित रचेको थियो ।
तर, पछिल्लो समय भने फ्रान्स इंग्लिस टोलीमाथि हावी भइरहेको छ । पछिल्लो ८ खेलमा फ्रान्सले ५ खेलमा जित र २ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।
डिडियर डेसच्याम्पको प्रशिक्षकत्वमा रहेको फ्रान्स आज इंग्लिस टोलीमाथि जित हात पार्दै उपाधि रक्षा अभियान जारी राख्न चाहन्छ ।
यता, थ्री लायन्सका रुपमा पनि परिचित ग्यारेथ साउथगेटको टोली यो पल्ट फ्रान्सलाई स्तब्ध पार्दै अन्तिम चार पुग्ने कोसिसमा हुनेछ ।
सम्भावित सेमिफाइनल पुग्ने दुई टोली
पोर्चुगल र फ्रान्स