
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा सनराइजर्स हैदराबादमाथि गुजरात टाइटन्सले जित हासिल गरेको छ ।
आईतवार भएको आईपिएलअन्तर्गत पहिलो खेलमा सनराइजर्स हैदराबादमाथि साविक उपविजेता समेत रहेको गुजरात टाइटन्सले ७ विकेटको जित हासिल गरेको हो ।
सहज जितसंगै गुजरातले ३ खेलमा ४ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित हैदराबादको समान ३ खेलमा २ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा भएको खेलमा १६३ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै १६८ रन जोड्यो ।
गुजरातको जितमा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका साई सुदर्शनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोड्दा डेभिड मिलरले २७ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान शुबमन गिलले २८ बल खल्दै २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडेर आउट हुँदा विकेटकिपर वृद्दिमन साहाले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
यता, विजय शंकरले ११ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाएर अविजित रहे ।
गुजरातले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
हैदराबादका लागि कप्तान प्याट कमिन्स, मयङ्क मार्कान्दे र शाहबाज अहमेदले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६२ रन जोड्यो ।
हैदराबादका लागि अभिषेक शर्माले २० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोड्दा अब्दुल सामदले १४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर रनआउट भए ।
त्यस्तै, विकेटकिपर हेनरिक क्लासेनले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा शाहबाज अहमेदले २० बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलिनय फर्किए ।
यता, ओपनर ब्याट्सम्यान ट्राभिस हेडले १४ बलमा ३ चौका प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा अैदेन मार्करामले १९ बल खेल्दै १७ रन जोडेर पेविलियन फर्किए ।
अर्का ओपनर मयङ्क अग्रवालले १७ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १६ रन जोड्दै आउट हुँदा प्याट कमिन्स २ रनमा अविजित रहे ।
इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका वासिन्टन सुन्दर भने शुन्य रनमा आउट भए ।
हैदराबादले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
हैदराबादलाई मध्यम रनमा समेत्न गुजरातका लागि मोहित शर्माले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिँदा अज्मतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान र नुर अहमदले समान १–१ विकेट लिए ।