
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा चेन्नेई सुपर किंग्समाथि पञ्जाब किंग्सले सहज जित हासिल गरेको छ ।
बुधवार राति भएको आईपिएल खेलमा साविक विजेता समेत रहेको चेन्नेई सुपुर किंग्समाथि पञ्जाब किंग्सले ७ विकेटको सहज जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै पञ्जाबले १० खेलबाट ८ अंक जोड्दै लिग तालिकामा सातौं स्थानमा उक्लेको छ ।
पराजित साविक विजेताको समान १० खेलमा १० नै अंकसहित तालिकाकोचौथौं स्थानमा रहेको छ ।
चेन्नेईस्थित एम. ए. चिदमबरम रंगशालामा भएको खेलमा १६३ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भ्रमणकारी टोली पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
पञ्जाबको जितमा ओपनर ब्याट्सम्यान जोनी बाइस्ट्रोले ३० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोड्दा रिले रुसोले २३ बल खेल्नेक्रममा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान साम करनले २० बलमा ३ चौका प्रहार गरेर २६ रन जोड्दै अविजित रहँदा शशांक सिंहले २६ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर अविजित रहे ।
अर्का ओपनर प्रभसिमरन सिंहले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
पञ्जाबले अतिरिक्त रुपमा १० रन जोड्यो ।
चेन्नेईका लागि सार्दुल ठाकुर, रिचार्ड ग्लिसन र सिभम् दुबेले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्यटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६२ रन जोड्यो ।
चेन्नेईका लागि कप्तान रुतुराज गाइकवादले ४८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान अजिन्क्या राहनेले २४ बल खेल्दै ५ चौका प्रहार गरेर २९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका समिर रिज्भीले २३ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किदा मोयन अलीले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोड्दै पेविलियन फर्किए ।
यता, विकेटकिपर महेन्द्र सिंह धोनीले ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोड्दै रनआउट हुँदा रविन्द्र जडेजा २ र शिभम् दुबे शुन्य रनमा पेविलियन फर्किए ।
डर्याल मिट्चेल भने १ रनमा अविजित रहे ।
चेन्नेईले अतिरक्त रुपमा १८ रन जोड्यो ।
पञ्जाबका लागि राहुल चाहर र हरप्रित बरारले समान २–२ विकेट लिँदा अर्शदिप सिंह र कागिसो राबडाले १–१ विकेट लिए ।