
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।
विहिवार राति भएको आईपिएल खेलमा सनराइजर्स हैदराबादले लिग तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै हैदराबादले १० खेलबाट १२ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित लिग लिडर राजस्थानको भने समान १० खेलबाट १६ अंक रहेको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २०२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र २०० रन जोड्न सक्यो ।
राजस्थानका लागि रियान परागले ४९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले ४० बल खेल्दै ७ चौका र २ छक्का प्रहार गर्दै ६७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, रोभमान पोवेलले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा शिमरन हेटमायरले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
यता, रविचन्द्रन आश्विन २ रनमा अविजित रहँदा ध्रुव जुरेल १ रनमा पेविलियन फर्किए ।
कप्तान सन्जु स्यामसन र अर्का ओपनर जस बटलर भने शुन्य रनमा पेविलियन फर्किए ।
राजस्थानले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
राजस्थानमाथि रोमाञ्चक जित निकाल्न हैदराबादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिँदा कप्तान प्याट कमिन्स र थङ्गरसु नतराजनले समान २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २०१ रन जोड्यो ।
हैदराबादका लागि नितिश कुमार रेड्डीले ४२ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान ट्राभिस हेडले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर हेनरिच क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा अर्का ओपनर अभिषेक शर्माले १० बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।
यता, आमोलप्रित सिंह भने ५ रनमा आउट भए ।
हैदराबादले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
राजस्थानका लागि आभेश खानले २ विकेट लिँदा सन्दिप शर्माले १ विकेट लिए ।