एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्समाथि सनराइजर्स हैदराबादले एकतर्फी जित हासिल गरेको छ ।
बुधवार राति भएको आईपिएलअन्तर्गत खेलमा लखनउ सुपर जायन्समाथि सनराइजर्स हैदराबादले १० विकेटको एकतर्फी जित हासिल गरेको हो ।
१० ओभरमै प्राप्त गरेको जितसंगै हैदराबादले १२ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा कायम रह्यो ।
पराजित लखनउको भने १२ खेलमा १२ नै अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६६ रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले ९.४ ओभरमा विना कुनै विकेट गमाउँदै १६७ रन जोड्यो ।
हैदराबादको जितमा ट्राभिस हेडले ३० बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ८९ रनको अर्धशतकिय पारी खेल्दा अभिषेक शर्माले २८ बल खेल्नेक्रममा ८ चौका र ६ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।
हैदराबादले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १६५ रन जोड्यो ।
लखनउका लागि आयुष बादोनीले ३० बलमा ९ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा निकोलास पुरनले २६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान तथा विकेटकिपर केएल राहुलले ३३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा कुर्णाल पाण्डेयाले २१ बलको सामना गर्दै २ छक्का प्रहार गरेर २४ रन जोडेर रनआउट भए ।
यता, मार्कुस स्टोइनिस ३ र क्विन्टन डि कक २ रनमा पेविलियन फर्किए ।
लखनउले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभर बलिङ गर्दा १२ रन दिएर २ विकेट हासिल गर्दा कप्तान प्याट कमिन्सले ४ ओभरमा ४७ रन खर्चिएर १ विकेट लिए ।