एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा मुम्बई इन्डियन्समाथि राजस्थान रोयल्सले सहज जित हासिल गरेको छ ।
सोमवार राति भएको आईपिएल खेलमा सर्वाधिक पाँच पटकका पुर्व विजेता मुम्बई इन्डियन्समाथि लिग लिडर राजस्थान रोयल्सले ९ विकेटको सहज जित हासिल गरेको हो ।
सहज जितसंगै जारी सिजन उच्च लयमा रहेको राजस्थानले ८ खेलबाट ७ मा जित र १ मा हारको नतिजा आत्मसाथ गर्दै १४ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
यता, लयमा आउन संघर्षरत मुम्बईको भने ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंक जोडेर तालिकाको सातौं स्थानमा रहेको छ ।
राजस्थानको घरेलु मैदान सवाइ मानसिंह रंगशालामा भएको खेलमा १८० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले १८.४ ओभरमा मात्र १ विकेट गुमाएर १८३ रन जोड्यो ।
राजस्थानको जितमा ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १०४ रनको शतकिय पारी खेल्दै अविजित रहँदा कप्तान तथा विकेटकिपर सन्जु सामसनले २८ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजित रहे ।
त्यस्तै, अर्का ओपनर जस बटलरले २५ बलमा ६ चौका प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।
राजस्थानले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
मुम्बईका लागि पियुष चावलाले ४ ओभरमा ३३ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७९ रन जोड्यो ।
मुम्बईका लागि तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दा नेहाल वाधेराले २४ बल खेल्नेक्रममा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, मोहम्मद नाबीले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा शुर्यकुमार यादवले ८ बलमा २ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
यता, कप्तान हार्दिक पाण्डेयाले १० बलमा १ चौका मद्दतमा १० रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान रोहित शर्मा ६, टिम डेभिड ३, अर्का ओपनर तथा विकेटकिपर इशान किशन र गेराल्ड कोएट्जे शुन्य रनमा पेविलियन फर्किए ।
जसप्रित बुमराह २ र पियुष चावला १ रनमा अविजित रहे ।
मुम्बईले अतिरिक्त रुपमा १० रन जोड्यो ।
राजस्थानका लागि सन्दिप शर्माले ४ ओभर बलिङ गर्दै १८ रन दिएर सर्वाधिक ५ विकेट लिँदा ट्रेन्ट बोल्डले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, आभेश खान र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए ।