
एजेन्सी । कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरुमाथि सहज जित हासिल गरेको छ ।
शुक्रवार राति भएको आईपिएल खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्गलोरुमाथि ७ विकेटको सहज जित निकालेको हो ।
सहज जितसंगै कोलकताले आईपिएलको अंक तालिकामा २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
यता, घरेलु मैदानमा लगातार ९ खेल जितेको बेङ्गलोरुले कोलकतासंग भने हार बेहोर्न पर्यो ।
जारी सिजन ३ खेल खेलिसक्दा मात्र २ अंकसहित बेङ्गलोरु तालिकाको छैटौं स्थानमा रहेको छ ।
बेङ्गलोरुको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा १८३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै १८६ रन जोड्यो ।
भ्रमणकारी टोली कोलकताको जितमा भिनकेटेस आय्यरले ३० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान सुनिल नारिनेले २२ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान श्रेयस आय्यरले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहँदा अर्का ओपनर तथा विकेटकिपर फिल साल्टले २० बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।
यता, रिङ्कु सिंह ५ रनमा अविजित रहे ।
कोलकताले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
बेङ्गलोरुका लागि यश डयाल, मयङ्क दागर र विजय कुमारले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेङ्गलोरुले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १८२ रन जोड्यो ।
बेङ्गलोरुका लागि ओपनर ब्याट्सम्यान विराट कोहोलीले ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा क्यामेरन ग्रिनले २१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार र्गै ३३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गिक्न म्याक्सवेलले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर आउट हुँदा दिनेश कार्तिकले ८ बल खेल्दै ३ छक्का प्रहार गरेर २० रन जोड्दै अन्तिम बलमा रनआउट भए ।
यता, कप्तान तथा अर्का ओपनर फाफ दु प्लेसिस ८ रनमा आउट हुँदा विकेटकिपर अनुज रावत र रजत पातिदार समान ३–३ रनमा पेविलियन फर्किए ।
बेङ्गलुरुले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
कोलकताका लागि एन्ड्रे रसेलले ४ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिँदा हर्षित राणाले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, सुनिल नारिनेले ४ ओभर बलिङ गर्दै ४० रन खर्चिएर १ विकेट लिए ।