
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ ।
आईतवार राति भएको दोस्रो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि ३ विकेटको जित निकालेको हो ।
महत्वपूर्ण जितसंगै गुजरातले ८ खेलबाट ८ नै अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित पञ्जाबको भने ८ खेलबाट ४ अंकसहित तालिकाको ९ औं अर्थात् पुच्छारबाट दोस्रो स्थानमा झरेको छ ।
पञ्जाबको घरेलु मैदान महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा १४३ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १४६ रन जोड्यो ।
गुजरातको जितमा राहुल तेवातियाले १८ बलमा ७ चौका प्रहार गर्दै ३६ रन जोडेर अविजित रहँदा कप्तान शुभमन गिलले २९ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्कियो ।
त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका साई सुदर्शनले ३४ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोड्दै आउट हुँदा विकेटकिपर वृदिमन साहले ११ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
यता, अजमतुल्लाह ओमारजायीले १० बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा शाहरुख खान ८, डेभिड मिलर ४ र राशिद खान ३ रनमा पेविलियन पर्किए ।
रविश्रीनिवासन साई किशोर शुन्य रनमा अविजित रहे ।
गुजरातले अतिरक्त रुपमा ३ रन जोड्यो ।
पञ्जाबका लागि हर्षल पटेलले ३ विकेट लिँदा लैम लिभिङस्टोनले २, कप्तान साम करण र अर्शदिप सिंहले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभर खेल्नेक्रममा अलआउट हुँदै १४२ रन जोड्यो ।
पञ्जाबका लागि ओपनर ब्याट्सम्यान प्रभसिमरन सिंहले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा हरप्रित बरारले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान साम करनले १९ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका हरप्रिति सिंह १९ बल खेल्नेक्रममा १४ रन बनाउँदै रनआउट भए ।
यता, विकेटकिपर जितेश शर्माले १२ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोड्दै आउट हुँदा रिले रुसो ९, शशांक सिंह ८, लैम लिभिङस्टोन ६, आशुतोष शर्मा ३ र हर्षल पटेल शुन्य रनमा पेविलियन फर्किए ।
कागिसो राबाडा १ रनमा अविजित रहे ।
पञ्जाबले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
पञ्जाबलाई सस्तैमा अलआउट गर्न गुजरातका लागि रविश्रीनिवासन साई किशोरले सर्वाधिक ४ विकेट लिँदा मोहित शर्मा २, नुर अहमद २ र राशिद खानले १ विकेट लिए ।