
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्समाथि मुम्बई इन्डियन्सले जित हासिल गरेको छ ।
आईतवार भएको आईपिएल खेलमा पाँच पटकका विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि २९ रनको जित हासिल गरेको हो ।
मुम्बईको जारी सिजनमा यो पहिलो जित हो ।
यसअघि खेलेका ३ खेलमा मुम्बई पराजित रहेको थियो ।
योसंगै मुम्बईले लिग तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।
पराजित दिल्लीको ५ खेलमा २ अंक रहेको छ ।
मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा भएको खेलमा २३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र २०५ रनमा समेतियो ।
दिल्लीका लागि ट्रिस्टान स्टुब्सले २५ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान पृथ्वी सले ४० बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, अभिषेक पोरेलले ३१ बलमा ५ चौका प्रहार गर्दै ४१ रन जोड्दै आउट हुँदा अर्का ओपनर डेभिड वार्नरले ८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
यता, अक्षर पटेल ८, ललित यादव ३, जए रिर्चालेसन २ र कप्तान रिशब पन्त १ रनमा पेविलियन फर्किदा कुमार कुशग्रा शुन्य रनमा आउट भए ।
दिल्लीले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
दिल्लीमाथि जित निकाल्न मुम्बईका लागि गेरार्ड कोएट्जेले ४ ओभर बलिङ गर्दै ३४ रन दिएर सर्वाधिक ४ विकेट लिँदा जसप्रित बुमराहले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए ।
त्यस्तै, रोमारियो शेफर्डले ४ ओभर बलिङ गर्दै ५४ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २३४ रनको विशाल योगफल तयार पारे ।
मुम्बईका लागि पुर्व कप्तान रोहित शर्माले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४९ रन जोड्दा टिम डेभिडले २१ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडेर अविजित रहे ।
त्यस्तै, विकेटकिपर इशान किशनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किदा रोमारियो शेफर्डले १० बल खेल्नेक्रममा विष्पोटक ब्याटिङ गर्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहे ।
यता, कप्तान हार्दिक पाण्डेया ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडेर पेविलियन फर्किदा तिलक बर्मा ६ र सुर्यकुमार यादव शुन्य रनमा पेविलियन फर्किए ।
मुम्बईले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
दिल्लीका लागि अक्षर पटेलले ४ ओभर बलिङ गर्दा ३५ रन दिएर २ विकेट लिँदा एनरिच नोर्ट्जेले ४ ओभरमा ६५ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, खलिल अहमेदले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर १ विकेट लिए ।