
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा कोलकता नाइट राइडर्सले लखनउ सुपर जायन्समाथि जित निकालेको छ ।
आईतवार भएको खेलमा कोलकता नाइट राइडर्सले लखनउ सुपर जायन्समाथि ८ विकेटको जित निकालेको हो ।
सहज जितसंगै कोलकताले ५ खेलमा ८ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
पराजित लखनउको भने ६ खेलमा ६ नै अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
कोलकताको घरेलु मैदान इडेन गार्डेन रंगशालामा भएको खेलमा १६२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली कोलकताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
कोलकताको जितमा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर फिल साल्टले ४७ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान श्रेयस ऐयरले ३८ बल खेल्दै ६ चौका प्रहार गरेर ३८ नै रन जोडेर अविजित रहे ।
त्यस्तै, अंगक्रिश रघुबंशी ७ र अर्का ओपनर सुनिल नारिने ६ रनमा आउट भए ।
कोलकताले अतिरिक्त रुपमा २२ रन जोड्यो ।
लखनउका लागि मोहसिन खानले ४ ओभर बलिङ गर्नेक्रममा २९ रन दिएर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६१ रन जोड्यो ।
लखनउका लागि कप्तान तथा विकेटकिपर केएल राहुलले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोड्दा निकोलास पुरनले ३२ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, आयुष बादोनीले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा मार्कुस स्टोइनिसले ५ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
यता, ओपनर ब्याट्सम्यान क्विन्टन डि ककले ८ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किदा दिपक होडा ८ र अर्शद खान ५ रनमा आउट भए ।
कुर्णाल पाण्डेया भने ७ रनमा अविजित रहे ।
लखनउले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
कोलकताका लागि मिट्चेल स्टार्कले ४ ओभर बलिङ गर्दा २८ रन दिएर ३ विकेट लिँदा बैभव अरोरा, सुनिल नारिने, एन्ड्रे रस्सेल र वरुण चक्रवतीले समान १–१ विकेट लिए ।