भक्तपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत प्लेअफ खेलमा आज (मंगलवार) राति कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बेलुकी ७ः४५ बजे देखि सुरु हुने खेलमा जारी सिजन उच्च लयमा रहेको क्लबद्वय कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद आमनेसामने हुने भएको हो ।
प्लेअफ खेलअन्तर्गत क्वालिफायर १ मा विजयी हुने टोली १७ औं संस्करणको आईपिएलको फाइनलमा प्रवेश गर्नेछ ।
पराजित टोलीले भने फाइनल प्रवेशको निम्ति इलिमिनेटर खेलमा विजयी हुने टोलीसंग क्वालिफायर २ खेल खेल्न पर्नेछ ।
इलिमिनेटर खेलमा लिग तालिकामा तेस्रो र चौथौं हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु प्रतिस्पर्धा गर्नेछ ।
बलिउड अभिनेता शाहरुख खानको स्वामित्वमा रहेको कोलकताले लिग चरणका १४ खेलमध्येमा ९ मा जित र ३ खेलमा हार बेहोर्दै २० अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर १ मा स्थान बनाएको थियो ।
त्यस्तै, हैदराबादले भने १४ खेलमध्येमा ८ मा जित र ५ मा हारको नतिजा आत्मसाथ गर्दै १७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहँदै कोलकतासंग खेल्ने पक्का गर्यो ।
त्यसअघि जारी सिजनको लिग चरणको खेलमा यी दुई टोलीबीचको भिडन्तमा दुई पटकका पुर्व विजेता कोलकता ४ रनले विजयी भएको थियो ।