एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुमाथि जित निकालेको छ ।
रनको क्रीतिमान बनेको सोमवार रातिको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुमाथि २५ रनको जित निकालेको हो ।
जितसंगै हैदराबादले ६ खेलबाट ८ अंक जोड्दै तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित बेङ्गलुरुको भने ७ खेलमा मात्र २ अंकसहित तालिकाको पुच्छार अर्थात् १० औं स्थानमा रहेको छ ।
बेङ्गलुरुको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा क्रीतिमानी २८८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली बेङ्गलुरु निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २६२ रनमा समेतियो ।
बेङ्गलुरुका लागि विकेटकिपर दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८३ रनको अर्धशचकिय पारी खेल्दा कप्तान फाफ दु प्लेसिसले २८ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेर ६२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, पुर्व कप्तान विराट कोहलीले २० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोड्दा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका अनुज रावतले १४ बल खेल्दै ५ चौका प्रहार गरेर २५ रन जोड्दै अविजित रहे ।
यता, महिपाल लोमरोरले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन जोड्दै पेविलियन फर्किदा रजत पातिदार ९, विल ज्याक्स ७ र सौरभ चौहान शुन्य रनमा आउट भए ।
विजय कुमार भने १ रनमा अविजित रहे ।
बेङ्गलुरुले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
घरेलु टोलीमाथि जित निकाल्न हैदराबादका लागि कप्तान प्याट कमिन्सले ४ ओभर बलिङ गर्दै ४३ रन दिएर ३ विकेट लिँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका मयङ्क मारकान्देले ४ ओभरमा ४६ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, थङ्गरसु नतराजनले ४ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै क्रीतिमानी २८७ रन जोड्यो ।
उक्त योगफल आईपिएलको इतिहासमा अहिलेसम्मकै विशाल योगफल हो ।
हैदराबादले यसै सिजन मुम्बई इन्डियन्सविरुद्व बनाएको २७७ रनको क्रीतिमानलाई सुधारेको हो ।
हैदराबादका लागि क्रीतिमानी योगफल तयार गर्न ओपनर ब्याट्सम्यान ट्राभिस हेडले ४१ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०२ रनको शतकिय पारी खेल्दा विकेटकिपर हेनरिच क्लासेनले ३१ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरेर ६७ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडेर अविजित रहँदा अर्का ओपनर अभिषेक शर्माले २२ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।
यता, अैदिन मार्करामले १७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहे ।
हैदराबादले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
बेङ्गलुरुका लागि लोकी फर्गुसनले ४ ओभरमा ५२ रन दिएर २ विकेट लिँदा रेस टोप्लेले पनि ४ ओभर बलिङ गर्दै ६८ रन खर्चिएर १ विकेट लिए ।