एजेन्सी । अफ्रिकी महादेशको शीर्ष प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको उपाधि आइभरी कोस्टले जितेको छ ।
आईतवार राति भएको फाइनल खेलमा नाइजेरियामाथि पुनरागमन २–१ को जित हासिल गर्दै आइभरी कोस्टले अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिताको उपाधि जितेको हो ।
आइभरी कोस्टको स्टेड ओलम्पिक अलास्सेन क्वाट्टारा रंगशालामा भएको उपाधि भिडन्त खेलमा घरेलु टोलीको जितमा फ्यांक केस्सेइ र सेबास्टियन हेलरले गोल गरे ।
पराजित टोलीका लाडि विलियम ट्रोस्ट इकोङले एक गोल गरे ।
रोमाञ्चक खेलको ३८ औं मिनेटमा इकोङले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलायो ।
तर, दोस्रो हाफको ६२ औं मिनेटमा सिमोन एडिनग्राको असिस्टमा केस्सेइले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ८१ औं मिनेटमा एडिनग्राकै असिस्टमा हेलरले गोल थप्दा आइभरी कोस्ट २–१ ले विजयी भयो ।
घरमै उपाधि जितेसंगै आइभरी कोस्टले तेस्रो पटक अफ्रिकाको शीर्ष प्रतियोगिता जित्न सफल भएको छ ।