
एजेन्सी । उपाधि दाबेदार मनिएको अष्ट्रेलिया आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानसंग स्तब्ध बनेको छ ।
आईतवार विहान भएको खेलमा बलियो अष्ट्रेलिया अफगानिस्तानसंग २१ रनले स्तब्ध बनेको हो ।
अष्ट्रेलियाको अप्रत्यासित हारसंगै ग्रुप १ को सेमिफाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ ।
अष्ट्रेलियाले सुपर ८ मा १ खेल खेल्न बाँकी रहेको अवस्थामा २ अंक छ ।
यता, अष्ट्रेलियामाथि ऐतिहासिक जित निकलेको अफगानिस्तानको समान २ खेलमा २ अंक नै छ ।
यसअर्थमा सुपर ८ को अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने तय छ ।
भारत २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
अब अष्ट्रेलियालाई प्रतियोगितामा जिवितै रहन भोली सोमवार भारतमाथि अनिवार्य जित चाहिनेछ ।
वेस्ट इन्डिजको आर्नोस भाले स्टेडियममा भएको खेलमा १४९ रनको सामान्य विजयी लक्ष्यका मैदान ओर्लिएको अष्ट्रेलिया १९.२ ओभरमा अलआउट हुँदा मात्र १२७ रनमा समेतियो ।
अष्ट्रेलियाका लागि ग्लिन म्याक्सवेलले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दा मार्कुस स्टोइनिसले १७ बल खेल्दै १ चौका मद्दतमा ११ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, कप्तान मिट्चेल मार्शले ९ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा एडम जाम्पा ९, विकेटकिपर म्याथ्यु वाडे ५, डेभिड वार्नर र प्याट कमिन्स समान ३–३, टिम डेभिड र अशतोन अगर २–२ र ट्राभिस हेड शुन्य रनमा पेविलियन फर्किए ।
जोश हाजेलउड ५ रनमा अविजित रहे ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
अष्ट्रेलियामाथि ऐतिहासिक जित निकाल्न अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ४ विकेट लिँदा नविन उल हकले ३ विकेट लिए ।
त्यस्तै, कप्तान राशिद खान, अजमतुल्लाह ओमारजायी र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४८ रन जोड्यो ।
अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर इब्राहिम जडरानले ४८ बल खेल्नेक्रममा ६ चौका प्रहार गरेर ५१ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, करिम जनतले ९ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा मोहम्मद नाबीले ४ बल खेल्दै २ चौका प्रहार गरेर १० रन जोड्दै अविजित रहे ।
यता, कप्तान राशिद खान र अजमतुल्लाह ओमारजायी २–२ रनमा आउट हुँदा नान्गेयालिया खरोटे १ रनमा अविजित रहे ।
गुलबदिन नाइब भने शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
अष्ट्रेलियाका लागि पुर्व कप्तान प्याट कमिन्सले ह्याट्रिक विकेट लिँदा एडम जाम्पाले २ र मार्कुस स्टोइनिसले १ विकेट लिए ।