एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा अष्ट्रेलियाले बंगलादेशमाथि ८ विकेटको जित हात पारेको छ ।

मंगलवार राति भएको खेलमा साविक विजेता समेत रहेको अष्ट्रेलियाले १०८ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा १८.२ ओभरमा १११ रन जोड्दै बंगलादेशमाथि ८ विकेटको जित हात पारेको हो ।

सेन्ट जोर्जेज पार्कमा भएको खेलमा बलियो अष्ट्रेलियाका लागि कप्तान मेग लानेङले ४९ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ४८ रन बनाउँदै अविजित रहिन् ।

त्यस्तै, विकेटकिपर समेत रहेकी एलेस्से हिलेले ३६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनको योगदान गरिन् ।

एह्स्ली गार्डनर २० बलमा २ चौका मद्दतमा १९ रनमा नटआउट रहँदा बेथ मोनी २ रनमा पेविलियन फर्किन् । अष्ट्रेलियाले ५ रन अतिरिक्त रुपमा पाएको थियो ।

बंगलादेशका लागि मारुफा अक्टर र शोर्ना अक्टरले १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले २० ओभर ७ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान निगार सुल्तानाले ५० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रनको अर्धशतकिय पारी खेलिन् ।

त्यस्तै, शोर्ना अक्टरले २७ बलको सामना गर्दै १ चौका मद्दतमा १२ रन जोडिन् । बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुर्शिदा खातुन र सोभाना मोस्तार्याले समान समान ७–७ रन जोड्दै पेबिलियन फर्किदा नाहिदा अक्टर ६ रन बनाउँदै आउट भइन् ।

त्यस्तै, रुमाना अहम्मद ४ रनमा आउट हुँदा रितु मोनी ३ रनमा अविजित रहिन् । यता, विकेट किपर शामिमा सुल्ताना मात्र १ रनमा आउट हुँदा मारुफा अक्टर १ रन बनाउँदै नटआउट रहिन् । बंगलादेशले ९ रन अतिरिक्त रुपमा पाएको थियो ।

साविक विजेता अष्ट्रेलियाका लागि जोर्जिया वारेहमले सर्वाधिक ३ विकेट लिँदा दार्सी ब्राउनले २ विकेट लिइन् । त्यस्तै, मेगन सट र एह्स्ली गार्डनरले १–१ विकेट हात पारिन् ।

अष्ट्रेलिया २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । यता, बंगलादेश भने जारी विश्वकपमा खेलेको २ वटै खेलमा पराजय बेर्होदै शुन्य अंकमा समूह ‘ए’ को चौथौ स्थानमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत बुधवार २ खेल हुँदैछन् । पहिलो खेलमा वेस्ट इन्डिजले भारतको सामना गर्दा दोस्रो खेलमा पाकिस्तानले आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेल नेपाली समय अनुसार पौने ७ बजे सुरु हुँदा दोस्रो खेल राति पौने ११ बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.