एजेन्सी । क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासेरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।
सनिवार राति भएको फाइनल खेलमा अल नासेरलाई ४–१ ले पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको हो ।
प्रिन्स सुल्टान बिन अब्दुलाजिज स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा एक गोलले पछि रहेको स्थिति उल्ट्याउँदै अल हिलालले उपाधि जित्न सफल भयो ।
पहिलो हाफको अन्त्यतिर ४४ औं मिनेटमा अब्दुल रहमान घरिबको पासमा रोनाल्डोले गोल गर्दै अल नासेरलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५५ औं मिनेटमा अलेक्जान्डर मिट्रोभिकको पासमा सर्जे मिलिन्कोभिक साभिकले अल हिलालका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ६३ औं मिनेटमा रुविन नेभेसको पासमा मिट्रोभिकले गोल थप्दा अल हिलाल २–१ ले अघि बढ्यो ।
त्यस्तै, ६९ औं मिनेटमा माल्कोमको पासमा मिट्रोभिकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा अल हिलाल ३–१ ले अघि बढ्यो ।
यता, ७२ औं मिनेटमा माल्कोमले गोल गर्दा अल हिलाल ४–१ ले विजयी भयो ।