एजेन्सी । साउदी क्लब अल नासेर एसियाली क्लब फुटबलको शीर्ष प्रतियोगिता एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

सोमवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) क्लब अल एनसंग ट्राइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासेर प्रतियोगिताबाट बाहिरिएको हो ।

अल नासेरको घरेलु मैदान अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेल घरेलु टोलीले ४–३ ले जित्दा समग्रमा ४–४ को बराबरीमा टुंगिदा खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।

पेनाल्टी सुटआउटमा युएई टोलीका लागि सौफियान राहिमी, अलेक्जान्ड्रो रोमेरो र सुल्टान अल शाम्सीले गोल गरे ।

यता, घरेलु टोलीका लागि भने कप्तान क्रिस्चियानो रोनाल्डोले मात्र पेनाल्टीमा गोल गर्न सके ।

मार्को ब्रोजोभिक र एलेक्स टेलेक्सको प्रहार गोलमा परिणत हुन सकेन ।

त्यसअघि खेलको २८ औं मिनेटमा अलेक्जान्ड्रो रोमेरोको पासमा सौफियान राहिमीले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती दिलाउँदा समग्रमा २–० ले अघि बढ्यो ।

त्यस्तै, ४५ औं मिनेटमा माटियास पालासियोसको पासमा राहिमीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा अल एन २–० समग्रमा ३–० ले अघि बढ्यो ।

तर, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा घरेलु टोलीका साडियो मानेको पासमा अब्दुलरहमान घरिबले गोल फर्काउँदा खेल २–१ समग्रमा ३–१ को अवस्थामा आयो ।

यता, दोस्रो हाफको ५१ औं मिनेटमा युएई क्लबका खालिद इसाले आत्मघाती गोल गर्न पुग्दा अल नासेर २–२ समग्रमा ३–२ को अवस्थामा आयो ।

त्यसपछि ७२ औं मिनेटमा एलेक्स टेलेक्सले गोल गर्दा अल नासेर ३–२ समग्रमा ३–३ को बराबरीमा आयो ।

निर्धारित ९० मिनेटमा निर्णय नभएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।

अतिरिक्त समयको १०३ औं मिनेटमा भ्रमणकारी टोलीका सुल्टान अल शम्सीले गोल गर्दा युएई क्लब ३–३ समग्रमा ४–३ ले अघि बढ्यो ।

तर, ११८ औं मिनेटमा रोनाल्डोले अल नासेरका लागि पेनाल्टीमा गोल गर्दा खेल ४–३ समग्रमा ४–४ मा सकियो ।

च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेग खेलमा अल एन १–० ले विजयी भएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.