एजेन्सी । साविक विजेता अल नासेरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अल हिलालले साउदी किंग्स कपको उपाधि जितेको छ ।
शुक्रवार राति भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी अल नासेरलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै अल हिलालले साउदी किंग्स कपको उपाधि जितेको हो ।
किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा अल हिलाललाई उपाधि दिलाउन अलेक्जान्डर मिट्रोभिक, मोहमेद कान्नो, हसन अल हमदान र नासेर अल दाबसारीले गोल गर्दा साउद अब्दुलहामिद र रुवेन नाभेसको प्रहार भने गोलमा परिणत हुन सकेन ।
यता, पराजित टोलीका लागि कप्तान क्रिस्चियानो रोनाल्डो, सामी अल नाजेई, अब्दुलरहमान घरिब र अली लजामीले पेनाल्टीमा गोल गर्दा एलेक्स टेलेक्स, अली अल हस्सन र मेशरी अल नेमेरको प्रहार भने खेर गयो ।
त्यसअघि खेल सुरु भएको सातौं मिनेटमा माल्कोमको पासमा मिट्रोभिकले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाए ।
यता, दोस्रो हाफको ५६ औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड खाँदा अल नासेर १० खेलाडीमा समेतियो ।
त्यस्तै, ८७ औं मिनेटमा अली अल बुलाइहीले पनि रातो कार्ड पाउँदा अल हिलाल पनि १० खेलाडीमा समेतियो ।
लगत्तै ८८ औं मिनेटमा अली लजामीको पासमा अमन याहाले आल नासेरका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै कालिडाउ काउलीबेलीले दोहोरो पँहेलो कार्ड पाउँदा अल हिलाल ९ खेलाडीमा समेतियो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरित्तः ३० मिनेट लम्बियो ।
तनाबपूर्ण खेलमा थप गोल ननिस्केपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भयो ।