
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले दुई गोलले पछि परेको स्थितिलाई उत्कृष्ट पुनरागमन गर्दै ला लिगा खेलमा अल्मेरियामाथि जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा रियल मड्रिडले अल्मेरियामाथि दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै ३–२ को उत्कृष्ट पुनरागमन जित हासिल गरेको हो ।
मड्रिडस्थित स्यान्टियागो बेर्नामाउ रंगशालामा भएको खेलमा मड्रिडको जितमा जुधे बेलिङघम, भिनिसियस जुनियर र ड्यानी कार्भाजलले गोल गरे ।
अल्मेरियाका लागि भने लार्जेइ रामाजानी र इडगार गोन्जालेजले गोल गरे ।
खेल सुरु भएको पहिलो मिनेटमै लुकास रोर्बटोनको पासमा रामाजानीले गोल गर्दै अल्मेरियालाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर गोन्जालेजले गोल थप्दा भ्रमणकारी टोली पहिलो हाफसम्ममा २–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५७ औं मिनेटमा बेलिङघमको पेनाल्टी गोलमार्फत् मड्रिड खेलमा फर्कियो ।
त्यस्तै, ६७ औं मिनेटमा भिनिसियस जुनियरले मड्रिडका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि थप रोमाञ्चक बनेको खेलमा इन्जुरी समयको ९ औं मिनेटमा बेलिङघमको असिस्टमा कार्भाजलले सनसनी गोल गर्दै मड्रिडलाई ३–२ को पुनरागमन जित दिलाए ।
महत्वपूर्ण जितसंगै मड्रिडले २० खेलमा ५१ अंक जोडेको छ ।
मड्रिड तालिकाको दोस्रो स्थानमा रहेको छ ।