एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा अलाभेसमाथि एकपक्षिय फराकिलो जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा ला लिगा च्याम्पियन रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अलाभेसमाथि ५–० को एकपक्षिय फराकिलो जित निकालेको हो ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन भिनिसियस जुनियरले दुई गोल गर्दा जुधे बेलिङघम, फेडरिको भालभार्डे र अर्डा गुलेरले एक–एक गोल गरे ।
खेल सुरु भएको १० औं मिनेटमा टोनी क्रुसको पासमा बेलिङघमले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २७ औं मिनेटमा इडुआर्डो कामाभिङगाको पासमा भिनिसिय जुजियरले गोल गर्दा मड्रिड २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बेलिङघमको पासमा भालभार्डेले गोल थप्दा मड्रिड पहिलो हाफसम्म ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ७० औं मिनेटमा बेलिङघमकै पासमा भिनिसियस जुनियरले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा मड्रिड ४–० ले अघि बढ्यो ।
८१ औं मिनेटमा युवा खेलाडी गुलेरले गोल थप्दा ला लिगा च्याम्पियन टोली ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै मड्रिडले ३६ खेलबाट ९३ अंक जोडेको छ ।
पराजित अलाभेसको समान ३६ खेलमा ४२ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।