एजेन्सी । विश्व विजेता लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी फुटबल टोलीलाई मंगलबार स्वदेशमा भव्य स्वागत गरिएको छ ।
३६ वर्षपछि विश्व फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकपको उपाधि उचाल्न सफल अर्जेन्टिनाको टिम बिहान राजधानी ब्युनर्स आयर्समा उत्रिएका थिए ।
विश्व विजेता टोलीलाई स्वागत गर्नका लागि अर्जेन्टिनाको राजधानीमा हजारौँ समर्थक सडकमा उत्रिएका थिए ।
विमानबाट ओर्लिदै गर्दा कप्तान मेसी सबैभन्दा पहिला ट्रफी लिएर निस्किएका थिए । राष्ट्रिय टोलीलाई विमानस्थानलमा रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।
टिमलाई आतिसबाजी र लाइभ ब्यान्डसहित हजारौं समर्थकले हर्षोल्लासका साथ स्वागत गरेका थिए । त्यसपछि मेसीको टिमलाई सेतो बसमा राखेर सहर परिक्रमा गराइएको थियो ।
सडकमा उत्रिएका हजारौँ समर्थकले अर्जेन्टिनाको झन्डा फहराउँदै विजयी ¥यालीमा सहभागी भएका थिए ।
वर्तमान विश्व फुटबलका महान् खेलाडी मेसीको कप्तानीमा पहिलो र अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।
यसअघि, अर्जेन्टिनाले सन् १९८६ र १९७८ मा विश्वकपको उपाधि जितेको थियो ।
२२ औं संस्करणको विजेता टोलीको स्वागतमा अर्जेन्टिनी सरकारले अर्जेन्टिनाभरी सार्वजनिक विदा समेत दिएको छ ।