भक्तपुर । आसन्न आईसीसी टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास खेलमा नेपाल क्यानडासंग पराजित भएको छ ।

सोमवार राति भएको अभ्यास खेलमा नेपाल क्यानडासंग ६३ रनले पराजित भएको हो ।

संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्राइरेई रंगशालामा भएको खेलमा १८४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपाल १९.३ ओभरमा अलआउट हुँदा मात्र १२० रनमा समेतियो ।

नेपालका लागि कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोड्दा अनिल कुमार साहले १६ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले २२ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोड्दै आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले १६ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

करण केसी ५ रनमा अविजित रहँदा सुन्दिप जोरा ६, सागर ढकाल ५, सोमपाल कामी ४, कप्तान रोहित पौडेल १ र अबिनाश बोहरा शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

नेपाललाई सस्तैमा अलआउट गर्न क्यानडाका लागि डिलन हेलिगरले ४, कप्तान साद विन जफर र जेरेमी गोर्डनले समान २–२, कलिम साना र प्रगन सिंहले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १८३ रन जोड्यो ।

क्यानडाका लागि निकोलास क्रिटनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेल्दा रविन्दर पाल सिंहले १७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडेर अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान नभनित धालीवालले २७ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा प्रगत सिंहले १० बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर आउट भए ।

यता, डिलन हेलिगरले ७ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर अविजित रहँदा अर्का ओपनर आरोन जोनसनले ८ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोड्दै पेविलियन फर्किए ।

दिलप्रित बाज्वा ३, साद बिन जफर र विकेटकिपर श्रेयस मोभ्भा समान २–२ रनमा आउट हुँदा रियान पठान भने शुन्य रनमा घाइते भएर मैदानबाट बाहिरिए ।

क्यानडाले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

नेपालका लागि अबिनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजबंशी र सागर ढकालले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.