
भक्तपुर । नेपालले आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानमाथि जित हासिल गरेको छ ।
शुक्रवार भएको खेलमा नेपालले टेस्ट राष्ट्र अफगानिस्तानमाथि १ विकेटको जित हासिल गरेको हो ।
योसंगै नेपालले समूह ‘डी’ मा ३ खेलबाट १ मा जित र २ मा हारको नतिजा निकाल्दै २ अंक जोड्दै समूह तालिकामा तेस्रोमा रहेर सुपर ६ मा स्थान पक्का गरेको छ ।
दक्षिण अफ्रिकास्थित इस्ट लन्डनस्थित बफालो पार्क क्रिकेट मैदानमा भएको खेलमा १४६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोड्यो ।
नेपालको जितमा देव खनालले ८९ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५८ रनको अर्धशतकिय पारी खेल्दा दिपक बोहराले ४२ बल खेल्दै ४ चौका प्रहार गर्दै २७ रन जोडेर आउट भयो ।
त्यस्तै, आकाश त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गर्दै १६ रन जोड्दै आउट हुँदा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोड्यो ।
यता, सुवास भण्डारीले ९, दिपक दुम्रेले ५, दिपेश प्रसाद कँडेलले ४, विकेटकिपर बिपिन रावलले २ रनमा आउट हुँदा गुलशन झा र आकाश चन्द समान १–१ रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
अफगानिस्तानका लागि फारिदोन दावदजायीले ४.४ ओभरमा २१ रन दिएर ३ विकेट लिँदा कप्तान नासेर खान र खलिल अहमद समान २–२ विकेट लिए ।
त्यस्तै, अल्लाह घजान्फर र अरब गुलले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १४५ रन जोड्यो ।
अफगानिस्ताका लागि अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोड्दा कप्तान नासेर अलीले ८३ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, फारिदोन दावदजायीले ६५ बलको समाना गर्दा ४ चौका प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा हस्सन इसाखिलले ३५ बलमा ४ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्कियो ।
सोहिल खान ४ र जमशिद जदरान ३ रनमा आउट हुँदा अफगानिस्तानका ४ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा २१ रन जोड्यो ।
अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न नेपालका लागि आकाश चन्दले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै, दिपेश प्रसाद कँडेलले ८ ओभर बलिङ गर्दा १ मेडन राखेर १७ रन दिँदै २ विकेट लिँदा गुलशन झाले ८ ओभर बलिङ गर्दै १ मेडन राख्दै ४२ रन खर्चिएर १ विकेट लिए ।
यता, सुवास भण्डारीले ८.१ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १५ रन दिएर १ विकेट हासिल गर्दा तिलक भण्डारीले पनि ८ ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित २८ रन खर्चिएर १ विकेट लिए ।