भक्तपुर । फिफा विश्वकपको दोस्रो चरण सनिवार अर्थात आजबाट सुरु हुँदैछ । १६ राष्ट्रहरुको टुंगो लागेसंगै नकआउट प्रणालीका आधारमा खेलिने खेल आजबाट सुरु हुन लागेको हो ।

प्रि–क्वाटरफाइनलका रुपमा पनि चिनिने अन्तिम १६ का दुई खेल आज राति हुनेछन् । पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजे खालिफा अन्तराष्ट्रिय रंगशालामा नेडरल्याण्ड र संयुक्त राज्य अमेरिकावीच हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा उपाधि दाबेदार राष्ट्र अर्जेन्टिना र एसियाली राष्ट्र अस्ट्रेलियाबीच राति पौने १ बजे अहम्मद बीन अली रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

नेडरल्याण्डविरुद्व संयुक्त राज्य अमेरिका
कतार विश्वकपको पहिलो नकआउट चरणको खेल युरोपेली राष्ट्र नेडरल्याण्ड र संयुक्त राज्य अमेरिकाबीच खालिफा अन्तराष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुँदैछ ।

यी दुई राष्ट्रबीच यसअघि ५ खेल भएका छन् । तर ती सबै मैत्रीपूर्ण खेल थिए । डच टोलीले ५ मध्ये ४ खेल जितेको छ भने अमेरिकाले पछिल्लो सन् २०१५ को खेल जितेको थियो ।

सन् १९९४ को विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसंग ३–२ ले पराजित भएयता नेडरल्याण्ड १९ खेलमा गैर युरोपेली राष्ट्रसंग निर्धारित समयमा हारेको छैन ।

जसमा उसले १३ जित हात पार्दा ६ खेलमा बराबरी खेलेको छ । उसो त सन् १९९८ मा ब्राजिलसंग र सन् २०१४ मा अर्जेन्टिनासंग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।

वर्तमान प्रशिक्षक लुईस भान गालको नेतृत्वमा १० विश्वकप खेलमा डच टोली अपराजित रहेको छ ।

नेडरल्याण्डले सन् २००६ मा अन्तिम १६ मा पोर्चुगलसंग १–० ले पराजित भएयता पछिल्लो ५ विश्वकपमा ४ पल्ट क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।

डच टोली समूह चरणका २ खेलमा जित र १ खेलमा बराबरीको नतिजा आत्मसाथ गर्दै अपराजित रहँदै समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

जारी विश्वकपमा डच टोलीका लागि कोडी गाक्पो मूख्य खेलाडीका रुपमा उदाएका छन् ।

सन् २००२ मा पोर्चुगललाई ३–२ ले पराजित गरेयता अमेरिकाले भने विश्वकपको पछिल्लो ११ खेलमा युरोपेली राष्ट्रहरुसंग जित हात पार्न सकेको छैन ।

जसमध्ये ६ खेल बराबरीमा टुंगिदा ५ खेलमा हार बेहोरेको छ । सन् २००२ मा मेक्सिकोमाथि जित हात पारे यता अमेरिकाले पछिल्लो ४ अन्तिम १६ खेलमा ३ मा पराजय बेहोरेको छ । ती सबै खेलहरु युरोपेली राष्ट्रसंगै हारेको छ ।

अमेरिका पनि जारी विश्वकपको समूह चरणमा २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हासिल गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा अन्तिम चरणमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाविरुद्व अस्ट्रेलिया
सन् २००७ मा अर्जेन्टिना र अस्ट्रेलिया मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेयता पहिलो पटक यी दुई राष्ट्र आमनेसामने हुँदैछन् ।

उक्त खेलमा अर्जेन्टिना १–० ले विजयी रहेको थियो । विश्वकपमा भने यी राष्ट्रहरु पहिलो पल्ट आमनेसामने हुन लागेका हुन् ।

यी दुई बीच ७ पल्ट भेट हुँदा ५ पल्ट अर्जेन्टिनाले जितेको छ भने १ पल्ट अस्ट्रेलियाले जितेको छ । बाँकी एक खेल बराबरीमा टुंगिएको छ ।

विश्व फुटबलमा बलियो अर्जेन्टिनाले १८ पटक विश्वकपमा सहभागी हुँदा उपाधि २ पटक जितेको छ । त्यस्तै, पछिल्लो २०१४ को फाइनल खेलेको छ ।

पछिल्लो रसिया विश्वकपमा भने अन्तिम १६ मा साविक विजेता फ्रान्ससंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

जारी विश्वकपमा दुई खेलमा जित र एक खेलमा पराजित रहँदै समूह ‘सी’ को शीर्ष स्थानमा रहेर अर्जेन्टिना अन्तिम १६ प्रवेश गरेको हो । अर्जेन्टिनाका मूख्य खेलाडी ७ पटकका बेलोन डीओआर विजेता लियोनल मेसी हुन् ।

यता एसियाली राष्ट्र अस्ट्रेलियाले भने यसअघि सन् २००६ को विश्वकपमा अन्तिम १६ पुगेको थियो । जसमा इटालीसंग १–० ले पराजित भएको थियो ।

जारी कतार विश्वकपमा समूह ‘डी’ रहेको अस्ट्रेलियाले दुई खेलमा जित र एकमा हारको नतिजा बेर्होदै साविक विजेता फ्रान्ससंग गोलअन्तरका आधारमा पछि रहँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

सम्भावित क्वाटरफाइनल पुग्ने राष्ट्रहरु
नेडरल्याण्ड र अर्जेन्टिना

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.