
भक्तपुर । आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
सोमवार विहान भएको खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसंग २१ रनले पराजित भएको हो ।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले ४ खेलबाट १ अंकमात्र जोड्न सक्यो ।
बंगलादेशले भने ४ खेलबाट ३ मा जितसहित ६ अंक जोडेर समूह ‘डी’ को उपविजेता बन्खै अघिल्लो चरण प्रवेश गरेको छ ।
वेस्ट इन्डिजको आर्नोस भाले रंगशालामा भएको खेलमा १०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै मात्र ८५ रन जोड्न सक्यो ।
नेपालका लागि कुशल मल्लले ४० बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा दिपेन्द्र सिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर आसिफ शेखले १४ बलमा ४ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा कुशल भुर्तेल ४, कप्तान रोहित पौडेल र सुन्दिप जोरा समान १–१ रनमा पेविलियन फर्किए ।
यता, अनिल साह, गुलशन झा, सोमपाल कामी र अबिनाश बोहरा शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
नेपालमाथि जित निकाल्न बंगलादेशका लागि तान्जिम हसन सकिबले ४ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र ७ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर ७ रन दिँदै ३ विकेट लिए ।
त्यस्तै, शकिब अल हसनले २.२ ओभर बलिङ गर्दै १५ रन दिएर २ विकेट लिँदा तस्किन अहमेदले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले बंगलादेशलाई पहिला ब्याटिङमा निम्त्यायो ।
बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन जोड्यो ।
बंगलादेशका लागि शकिब अल हसनले २२ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा रिशाद हुसेनले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, महमुदुल्लाहले १३ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर रनआउट हुँदा जाकेर अली २६ बल खेल्नेक्रममा १२ रन बनाउँदै पेविलियन फर्किए ।
यता, तास्किन अहमेदले १५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा विकेटकिपर लिटन दासले १२ बल खेल्दै १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।
तौहिद हृदय ९, कप्तान नाजमुल हुसेन शान्तो ४, तान्जिम हसन सकिब र मुस्ताफिजुर रहमान समान ३–३ र तान्जिद हसन शुन्य रनमा पेविलयन फर्किए ।
बंगलादेशले अतिरिक्त रुपमा १० रन जोड्यो ।
नेपालका लागि सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिँदा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै १ मेडन राख्दै १७ रन दिएर २ विकेट लिए ।
त्यस्तै, कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३.३ ओभर बलिङ गर्दै २२ रन दिएर २ विकेट लिए ।